
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवन निर्माणको औपचारिक शिलान्यास गरिएको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले आज संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा निर्माण हुने उक्त भवनका लागि प्रारम्भिक रूपमा १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ लागत अनुमान गरिएको थियो।
बोलपत्र प्रक्रियामार्फत प्रतिस्पर्धामा सहभागी निर्माण कम्पनीहरूमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२ दशमलव ३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा ठेक्का कबोल गरी निर्माणको जिम्मेवारी पाएको हो। महानगरपालिकासँग २०८२ पुस २९ गते सम्झौता भएको निर्माण कार्य २०८३ पौष मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शिलान्यास समारोहमा बोल्दै प्रमुख शाहले लामो प्रयासपछि वडा बासीले सुविधा सम्पन्न प्रशासनिक भवन पाउने अवसर प्राप्त गरेको बताउनुभयो। जग्गा खरिद गरी सहरी योजना आयोगमार्फत तयार पारिएको नक्साका आधारमा निर्माण थालिएको यो भवनमा मालपोत, नापी लगायत भविष्यमा थपिँदै जाने महानगर सेवाहरू समेटिने उहाँको भनाइ थियो। भवनको गुणस्तर कायम राख्न वडाबासी स्वयंले नियमित निगरानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उपप्रमुख डंगोलले वडा प्रशासनिक भवनलाई केवल भौतिक संरचना नभई विकेन्द्रीकरणको महत्वपूर्ण पूर्वाधारका रूपमा हेर्नुपर्ने बताउनुभयो। महानगरभित्रकै सबैभन्दा ठूलो वडा प्रशासनिक भवन बन्ने यस संरचनाबाट नागरिक सेवा अझ सरल, सहज, चुस्त र प्रभावकारी हुने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा वडाध्यक्ष तथा महानगरपालिकाको राजस्व समितिका संयोजक नवराज पराजुलीले वडा प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखिएको महत्वपूर्ण उपलब्धि बताउनुभयो। साथै उहाँले तीनकुनेको मुआव्जा विवाद समाधान गरी पार्क निर्माण, एअरपोर्ट क्षेत्रका घरहरूको पुनःमूल्याङ्कन, नदी किनारका अव्यवस्थित बस्ती व्यवस्थापन, जडीबुटी–कोटेश्वर सडक खण्डको सवारी चाप व्यवस्थापन र जडीबुटीदेखि पेप्सीकोला चोकसम्म मेलम्चीको पाइपलाइन विस्तारलाई वडाका प्रमुख प्राथमिकताका कामका रूपमा उल्लेख गर्नुभयो।
७ हजार ७० वर्गफुट क्षेत्रफलको भूमिगत तला पार्किङ प्रयोजनका लागि रहने भवनको कुल निर्माण क्षेत्रफल २२ हजार २२९ दशमलव ८२ वर्गफुट रहनेछ। जमिन तला, पहिलो तला र दोस्रो तलाको क्षेत्रफल समान रहने गरी डिजाइन गरिएको भवनमा दुई वटा लिफ्ट र दुई वटा भ¥याङ रहनेछन्। भवन वरिपरि विश्राम स्थल, बगैँचा तथा भविष्यमा स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माण गर्न मिल्ने व्यवस्था गरिएको डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
वडा सचिव सुरेश दाहालका अनुसार भवन निर्माणका लागि आवश्यक जग्गा मनोहरा जग्गा एकीकरण आयोजनाबाट करिब २८ करोड रुपियाँ लागतमा खरिद गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे