
काठमाडौँ, २८ असोज । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बयुमस ओभलमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।
अर्जुन कुमाल ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहरा ४, उत्तमथापामगर डक र दीपक प्रसाद डुम्रे एक रनमा आउट भए । बहराइनका अन्स ओबैद सैइदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाएर ७७ रनको योगफल खडा गरेको थियो । बहराइनका मुहम्मेद बसिलले ३४ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बहराइनका पाँच ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।
। नेपालको जितमा दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । दीपेश नै खेलको प्लेयर अफ द म्याच चुनिए । तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।
नेपालले पहिलो खेलमा इरानलाई २७४ रनको सहज जित निकालेको थियो । नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।
प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् ।
प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे