
चितवन,२०८२ । प्रतिजैविक प्रतिरोध आज विश्वव्यापी चुनौतीको रूपमा देखा परेको छ, जसले खाद्य सुरक्षा, जनस्वास्थ्य, उत्पादन क्षमता र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेको छ। ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवी नष्ट गर्न वा तिनको वृद्धि रोक्न प्रयोग हुने औषधिको अत्यधिक प्रयोग र दुरुपयोगका कारण सूक्ष्मजीवहरूले प्रतिरोधी क्षमता विकास गर्छन्, जसलाई प्रतिजैविक प्रतिरोध भनिन्छ।
खाद्यजन्य प्रतिजैविक प्रतिरोध नियन्त्रण र न्यूनीकरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा कृषि संगठन नेपालको प्राविधिक सहयोग र पशु सेवा विभागसँगको सहकार्यमा कोडेक्स प्रतिजैविक प्रतिरोध कार्यान्वयन परियोजना सञ्चालन गर्दै आएको छ। परियोजनाले जनचेतना अभिवृद्धि, निगरानी प्रणाली सुदृढीकरण, सुशासन प्रवर्द्धन र उत्तम अभ्यासको समर्थनमार्फत खाद्यजन्य प्रतिजैविक प्रतिरोधको जोखिम घटाउने उद्देश्य राखेको छ।
गत माघ १७ गते चितवनको कुखुरा उत्पादन प्रणालीमा गरिएको संयुक्त निगरानीको पहिलो चरणको नतिजा ५० भन्दा बढी सरोकारवालामाझ सार्वजनिक गरिएको थियो। कार्यक्रममा दाना उद्योग, ह्याचरी, व्यावसायिक कुखुरा फार्म, वधशाला, मासु पसल, मासु प्रशोधन उद्योग, पशु स्वास्थ्यकर्मी, उपभोक्ता र युवा वर्गको उल्लेखनीय सहभागिता रहेको थियो। परियोजनाले निजी क्षेत्रको सहकार्यमा चितवनको कुखुरा क्षेत्रको अवस्था बुझ्न पहिलो चरणको निगरानी सम्पन्न गरेको हो।
परियोजनाका संयोजक डा. साकार शिवाकोटीले निगरानी नतिजा प्रस्तुत गर्दै प्रतिजैविक प्रतिरोध बढ्ने कारण र यसको खाद्य उत्पादन, पशु तथा जनस्वास्थ्य र अर्थतन्त्रमा पर्ने दीर्घकालीन असरबारे सचेत गराए। उनले भने, “प्रतिजैविक प्रतिरोध न्यूनीकरण, खाद्य सुरक्षाको सुनिश्चितता र जनस्वास्थ्य संरक्षणका लागि प्रभावकारी नीति र त्यसको कार्यान्वयन अत्यन्त आवश्यक छ। तर वास्तविक परिवर्तन ल्याउन उत्पादन प्रणालीका सबै पात्रको व्यवहार परिवर्तन अपरिहार्य छ।”
विश्व स्वास्थ्य संगठनका अनुसार यदि समयमै न्यूनीकरणका उपाय अपनाइनुभएन भने भविष्यमा प्रत्येक तीन सेकेन्डमा एक जनाको मृत्यु प्रतिजैविक प्रतिरोधका कारण हुन सक्ने जोखिम रहेको छ।
कार्यक्रममा डा. शिवाकोटीले उत्पादन प्रणालीका सबै सरोकारवालालाई साझा जिम्मेवारी र भूमिका निर्वाह गर्न, स्थानीय युवा अभियन्तालाई स्थानीय तहसँग सहकार्य गर्दै जनचेतना फैलाउन, औषधिको विवेकपूर्ण प्रयोग, सरसफाइ, फार्म तथा उद्योगजन्य फोहोरको उचित व्यवस्थापनमार्फत वातावरण संरक्षणमा योगदान दिन आग्रह गरे। यसले वातावरणमार्फत प्रतिजैविक प्रतिरोधको प्रसार रोक्न सहयोग पुर्याउने उनको भनाइ थियो।
चितवनस्थित राष्ट्रिय एभियन रोग अनुसन्धान प्रयोगशालाका प्रमुख डा. विजय श्रेष्ठले पशु स्वास्थ्य क्षेत्रमा प्रतिजैविक प्रतिरोधको अवस्था र निगरानीका मुख्य नतिजा प्रस्तुत गर्दै चेतावनी दिए कि केही औषधिमा प्रतिरोध देखिन थालेको छ। मानव उपचारमा प्रयोग हुने औषधिहरू अझै प्रभावकारी भए तापनि ती औषधि अव्यवस्थित रूपमा पशुमा प्रयोग भए भविष्यमा मानव जीवन रक्षा गर्ने औषधिको अभाव हुन सक्छ।
कार्यशालाको अन्त्यमा सहभागीहरूले उत्पादन प्रणालीका सबै पक्षले आफ्नो भूमिका र जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए। विशेषज्ञहरूले भने, “खाद्य सुरक्षा सबैको सरोकार हो। प्रतिजैविक प्रतिरोध विरुद्ध आजैबाट एकजुट भएर अघि बढ्न जरुरी छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे