
काठमाडौँ। नेपाल वायुसेवा निगमले विभिन्न सञ्चार माध्यममा डाक्टरहरूको नियुक्ति सम्बन्धी आएका समाचारबारे स्पष्टिकरण प्रदान गरेको छ। निगमले आफ्नो प्रारम्भिक दिनदेखि नै कर्मचारी कल्याणका लागि क्लिनिक सञ्चालन गर्दै आएको छ। यो क्लिनिकमार्फत आम कर्मचारी, उनका परिवार सदस्य, पाइलट, इन्जिनियर र क्याबिन क्रु लगायत प्राविधिक जनशक्तिको नियमित स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरिएको छ।
निगमको क्लिनिकमा विभिन्न क्षेत्रगत विशेषज्ञता भएका डाक्टरहरू प्राविधिक जनशक्तिको आवश्यकता अनुसार कानुनको अधीनमा नियुक्त भएका छन्। हाल ९ जना डाक्टरहरूले हप्तामा तीन दिन निगमको क्लिनिकमा सेवा प्रदान गर्दै आएका छन्, बाँकी दिनहरूमा उनीहरू आफ्नो कार्यरत हस्पिटल वा क्लिनिकमार्फत आवश्यकतानुसार निःशुल्क परामर्श र क्लिनिकल सेवा दिइरहनु भएको छ।
सेवा प्रदान गरेबापत निगमले प्रतिमहिना रु. १० हजार मात्र तलबको रूपमा दिने गर्दछ। डाक्टर अस्मिता अर्यालको नियुक्ति सम्बन्धमा अनलाइन सञ्चार माध्यम “Business News” मार्फत गलत र आधारहीन समाचार प्रकाशित भएको प्रति निगमको ध्यानाकर्षण भएको छ। निगमले स्पष्ट पारेको छ कि डाक्टर अर्याललाई कुनै दबाब वा प्रभावमा नपरी अन्य डाक्टरहरूको सरह पेशागत दक्षता र क्षमताका आधारमा क्लिनिक सेवामा राखिएको हो।
निगमले सबै सञ्चार माध्यम र सरोकारवालाहरुलाई अनुरोध गरेको छ कि डाक्टरहरूको पेशागत मनोबलमा असर पार्ने गलत समाचार सम्प्रेषण नगर्न। निगमको क्लिनिकले राष्ट्रिय ध्वजाबाहकको रूपमा न्यून सेवा शुल्कमा उच्च विशेषज्ञता प्रदान गर्दै आएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे