
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सवारीसाधन प्रयोगलाई व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ। आयोगले फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै चुनाव प्रचार र मतदानको दिन सवारीसाधन कसरी प्रयोग गर्ने भन्ने स्पष्ट नियम बनाएको हो।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल, उम्मेदवार र तिनका प्रतिनिधिले प्रचारप्रसारको समयमा र मतदानको दिन सवारीसाधन चलाउन पहिले अनुमति लिनुपर्नेछ। प्रतिनिधि सभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन (दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे) मात्र प्रयोग गर्न पाउनेछन्। सवारी नचल्ने ठाउँमा उम्मेदवारले चारवटा सम्म घोडा प्रयोग गर्न पाउने व्यवस्था पनि गरिएको छ।
मौन अवधिमा कुनै पनि सवारीसाधन प्रयोग गर्न पाइने छैन। मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मतदान सकिन्जेल प्रचारका सवारीसाधन पूर्ण रूपमा प्रतिबन्धित हुनेछन्। मतदानको दिन अनुमतिप्राप्त सवारीबाहेक अन्य सवारी चलाउन पाइने छैन, तर हवाई उडानमा यो नियम लागु हुँदैन।
एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल सेवा, खानेपानी ट्याङ्कर, दुध ढुवानी, विद्युत् र दूरसञ्चारजस्ता अत्यावश्यक सेवाका सवारीसाधनलाई भने अनुमति लिनु नपर्ने आयोगले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे