
काठमाडौँ । नागढुङ्गा–नौबिसे–मलेखु सडकखण्डमा काम तीव्र बनाउन सडक केही दिन आंशिक रूपमा बन्द हुने भएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण चलाउन भीडभाडले समस्या भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालासँग छलफल गरेर पाँच घण्टा दैनिक सडक बन्द गर्ने निर्णय गरेको हो।
मङ्सिर २४ देखि पुस १ गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म नागढुङ्गादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रमा सवारी चल्न पाउने छैन। यस समयमा यात्रा गर्नुपर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्न वा आफ्नो यात्रा समय अघि–पछाडि मिलाउन अनुरोध गरिएको छ।
काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी नागढुङ्गा चेकपोस्टमै रोकिँनेछन्। त्यस्तै, मुग्लिङबाट काठमाडौँ आउँने सवारी खानीखोला, जुंगेखोला, गल्छी, बैरेनी र मासटारजस्ता स्थानमा रोकिनेछन्। एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल र शववाहनलाई भने ट्राफिक प्रहरीले पास गराइदिनेछ।
वैकल्पिक रूपमा सीतापाईला–भिमढुङ्गा, रामकोट–धार्के सडक, सामाखुसी–टोखा–छहरे मार्ग प्रयोग गर्न सकिनेछ। निर्माण व्यवसायीका अनुसार सडक साँघुरो भएकाले कालोपत्र लगाउन ठूला उपकरण एकैपटक चलाउनुपर्छ। रोकिएका सबै सवारीहरूलाई अपराह्न ३:३० पछि मात्र चल्न दिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे