
काठमाडौँ। नबिल बैङ्क लिमिटेडको ४१औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट प्रस्तावित उक्त लाभांश स्वीकृत गरेको हो। साधारण सभा बैङ्कका तत्कालीन अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
साधारण सभाले संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। यस निर्णयसँगै सञ्चालक समितिमा संस्थापक सेयरधनीतर्फको प्रतिनिधित्व निरन्तर रहने बैङ्कले जनाएको छ।
यसै दिन बसेको बैङ्कको सञ्चालक समितिको ६९९औँ बैठकले सञ्चालक निर्वाण कुमार चौधरीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैङ्कबाट शपथ ग्रहण पश्चात् उनले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्ने जनाइएको छ।
बैङ्कले निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ। उनको नेतृत्वकालमा टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैङ्किङको प्रवर्द्धन, नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपको स्थापना तथा मर्जर प्रक्रियालाई सफल बनाउने कार्यमा उल्लेखनीय योगदान पुगेको बैङ्कको भनाइ छ।
चालु आर्थिक वर्ष २०८२–८३ मा नबिल बैङ्कले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी पुँजीगत आधार थप मजबुत बनाएको छ। हाल देशभर २६८ शाखा सञ्जाल र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। साधारण सभा समयमै सम्पन्न गर्न सहयोग पुर्याउने सेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा सम्बन्धित सबै निकायप्रति बैङ्कले आभार व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे