सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।
अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।
अहिले देशभर प्रदर्शनकारीहरूको आक्रोश झनै चर्किएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको काठमाडौंस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरि आगो लगाइएको घटना प्रहरीले पुष्टि गरेको छ। देउवाको घरबाट कालो धुवाँ उठिरहेको देखिएको छ, तर देउवा स्वयं हाल कहाँ छन् भन्ने केही खुल्न नसकेको छ।
त्यस्तै, देउवा पत्नी आरजु राणा देउवाको धनगढीस्थित निवास पनि आजै आगलागीबाट प्रभावित भएको जनाइएको छ।
अर्कोतर्फ, सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पनि प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। कार्यालयको अगाडि अहिले ठूलो समूह उभिएर प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।
प्रदर्शन चर्किनुको पृष्ठभूमिमा सामाजिक सञ्जाल ब्लक, ‘जेनजि’ आन्दोलन, सरकारको दमन र सरकारविरुद्ध बढ्दो व्यापक जनआक्रोश रहेका छन्। प्रदर्शनकारीहरूले विभिन्न नेता निवासहरू तथा सरकारी कार्यालयहरूमा लक्षित आगजनी र तोडफोड जारी राखेपछि राजधानीमा सुरक्षा व्यवस्थामा तनाव देखिन थालेको छ।
यसै क्रममा, कर्फ्यू उल्लंघन, ओभरहेड, आगजनी, भिडभाड, निषेधित क्षेत्रमा प्रवेश लगायतका गतिविधिहरूले दैनिक जीवन र प्रशासनिक संचालनमा असर देखिएको छ। जनस्तरमा आक्रोश व्यक्त भइरहेको र सरकारको प्रतिक्रिया कसरी आउँछ भन्ने विषयमा ध्यान केन्द्रित भइरहेको छ।








