
एजेन्सी। युक्रेन–रुस युद्ध चौथो वर्षमा प्रवेश गर्नेक्रममा युक्रेन अभूतपूर्व राजनीतिक, सैन्य र आर्थिक दवाबमा परेको विश्लेषकहरूले चेतावनी दिएका छन्। पश्चिमी सहयोग घट्दै गएको, सेनाको मनोबल कमजोर बन्दै गएको र जनसांख्यिक समस्या गहिरिँदै गएको पृष्ठभूमिमा देश अहिले निर्णायक मोडमा पुगेको उल्लेख छ। विज्ञहरूका अनुसार, युक्रेनलाई संकटबाट निकाल्ने एक मात्र उपाय राजनीतिक र सैन्य नेतृत्वको ठोस पुनर्संरचना हो।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘२४ घन्टामै युद्ध सकाउने’ दाबी गरे पनि विश्लेषकहरू यसलाई व्यावहारिक सम्भावनासँग जोड्न इच्छुक छैनन्। उनका अनुसार ट्रम्पसँग रूसमाथि प्रभाव जमाउने आधार छैन। पश्चिमी राष्ट्रहरू कठोर प्रतिबन्ध लगाउने जोखिम लिन तयार नरहेका कारण रुससँग वार्ता वा दबाब दुवै प्रभावकारी बन्न सकेका छैनन्।
नाटोले युद्ध सुरुदेखि नै युक्रेनलाई हतियार, तालिम र सहायक सहयोग उपलब्ध गराए पनि प्रत्यक्ष सैन्य हस्तक्षेपबाट टाढा रह्यो। यही कारण, सहयोगका उतार–चढावबीच युक्रेन वर्षौंदेखि वास्तविक रूपमा रूससँग एक्लै लडिरहेको अवस्था छ। विश्लेषकहरूले पुटिनले प्रस्ताव गर्ने युद्धविराम वा वार्ताका संकेतहरू ‘समय किन्न खोजिएको कूटनीतिक ब्लफ’ भएको उल्लेख गरेका छन्।
अमेरिकाको राजनीतिक द्वन्द्व र सरकारी बन्दजस्ता बहानाबीच युक्रेनलाई दिइने सैन्य सहयोग करिब रोकिएको छ। हतियार आपूर्ति घटेपछि किभदेखि अग्रपंक्तिसम्म सैनिक क्षमतामा देखिएको कमजोर प्रभाव अब झनै स्पष्ट भएको छ। युरोपेली संघले पनि वाचा गरेअनुसार सहयोग गर्न नसकेको र सदस्य राष्ट्रहरूले आफ्नै सुरक्षा प्राथमिकता अघि सारेको विश्लेषणमा उल्लेख छ।
देशभित्र युक्रेन अहिले सीमित घरेलु उत्पादन र थोरै मात्रामा आउने बाह्य सहयोगमै निर्भर छ—त्यसमा पनि भ्रष्टाचारका कारण स्रोतको दुरुपयोग हुने जोखिम बढेको देखिन्छ। विशेषज्ञका अनुसार, युक्रेन युद्धलाई रोक्ने सामर्थ्य त राख्न सक्छ, तर जित्ने स्थिति हाल छैन।
सैनिक मनोबल गम्भीर रूपमा खस्किँदै गएको तथ्यांकले पुष्टि गर्छ। २०२२ देखि अहिलेसम्म २.५ लाखभन्दा बढी सैनिकका अनुशासन भंगसम्बन्धी फाइल खुलिसकेका छन्। ५६ हजारभन्दा बढी पलायन मुद्दा दर्ता भएका छन्। वर्ष २०२५ का प्रारम्भिक १० महिनामै मात्र १.६ लाखभन्दा बढी अनधिकृत अनुपस्थितीका केस दर्ता भएका छन्। अक्टोबर महिनामा २१ हजार सैनिकले सेवा छाडेको रिपोर्टले संकटको गहिराई झनै प्रष्ट बनाएको छ।
जनसंख्या गिरावट पनि युक्रेनका लागि दीर्घकालीन सुरक्षा चुनौती बनेको छ। स्वतन्त्रताका बेला ५० मिलियन जनसंख्या रहेको देश २०२५ मा घटेर करिब ३१ मिलियन मा सीमित भएको छ। जन्मदर प्रति महिला १ बच्चासम्म झर्दा श्रमशक्ति र सैन्य क्षमतामा ठूलो दबाब परेको छ।
यी चुनौतीबीच युक्रेनका विकल्पहरू तीन मात्र बाँकी छन्—
पहिलो, पुटिनका शर्त मान्दै आत्मसमर्पण;
दोस्रो, राजनीतिक र सैन्य संरचनाको कठोर पुनर्संरचना;
तेस्रो, वर्तमानजस्तै ‘अवस्था जस्ताको तस्तै’ निरन्तरता।
विशेषज्ञहरूका अनुसार पहिलो विकल्प दीर्घकालीन रूपमा जोखिमपूर्ण छ भने तेस्रो विकल्प पूर्णतः अव्यावहारिक छ। ठूलो शक्तिको रूसलाई छिटपुट प्रतिआक्रमणले कमजोर पार्न सकिँदैन।
यही कारण, विश्लेषकहरूले युक्रेनका लागि दोस्रो विकल्प—पूर्ण राजनीतिक तथा सैन्य पुनर्गठन—अत्यावश्यक रहेको निष्कर्ष निकालेका छन्। ढिलाइ भए रूसले अझ कडा शर्त राख्ने सम्भावना रहेको चेतावनीसमेत दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे