
काठमाडौं, २५ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आह्वान गरेका छन् ।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन् ।
नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी इन्डिया, मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेको भन्दै उनले भने, ‘हामीहरुले चालु आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौं ।’
कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न नेपाल इच्छुक रहेको उनको भनाइ छ ।
नेपाल सरकारले ‘इज अफ डुइङ बिजनेस’मा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले आश्वासन समेत दिए । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’
नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरे ।
‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,’ मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’
मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
भेटमा कोरियन अर्थमन्त्री चु क्युङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने बताए ।
उनले केही कोरियन लगानीमा दोहारो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे ।
जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे