
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, जसलाई महालक्ष्मी पूजा पनि भनिन्छ,सँगै यस वर्षको बडादसैँ पर्व समाप्त हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने यस पर्वमा विशेषगरी धन र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजै अखिल बलिपूर्ति गर्ने दिन पनि हो। यससँगै विजयादशमीदेखि सुरु भएको टीका–जमरा लगाउने परम्पराको औपचारिक अन्त्य हुन्छ। बेलुकी बलिपूर्ति गरेर जमरालाई नजिकैको नदी, तलाउ वा पोखरीमा सेलाउने चलन छ।
दशैँ पर्व आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर १५ दिनसम्म मनाइन्छ। आजको दिन विशेष गरी महालक्ष्मीलाई प्रसन्न पार्ने मान्यता छ। धार्मिक विश्वास अनुसार, राति जाग्राम बसेर पूजा गर्ने व्यक्तिको घरमा महालक्ष्मी प्रवेश गरी धन–सम्पत्ति प्रदान गर्छिन्।
माता दुर्गाका तीन रूपमध्ये महालक्ष्मीलाई पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ। यसै कारण यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। यस दिन जुवा खेल्ने परम्परा पनि छ। साथै, हात्तीमा चढेका इन्द्रको पूजा गर्ने विधान छ।
यसपछि असोज २१ गतेदेखि कार्तिक स्नान र तुलसीको विशेष पूजा सुरु हुनेछ भने साँझदेखि आकाशदीपदानको पनि सुरुवात हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे