नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले तनहुँको दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री न्यौपानेले विशेष परिस्थितिमा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने दृढता प्रकट गरिन्।
उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी सरुवा र बढुवा मात्र गर्ने निकायका रूपमा नहेरी संघीय व्यवस्थालाई सुदृढ बनाउन सक्रिय संस्थामा परिणत गर्ने आवश्यकता औंल्याइन्।
यसका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको उल्लेख गर्दै उनले कर्मचारी र सेवाग्राहीका समस्याको समाधान सहज रूपमा हुन थालेको जानकारी दिइन्।
मन्त्री न्यौपानेले नीतिगत सुधारमार्फत मन्त्रालयलाई पारदर्शी र जनमुखी बनाउने आफ्नो योजना रहेको स्पष्ट पारिन्।








