
काठमाडौँ । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसायीलाई कर्जा लिन अझ सहज बनाएको छ। अब मोबाइल बैंकिङ प्रयोग गरेर धितो नराखी नै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले डिजिटल कर्जासम्बन्धी पुरानो नियम संशोधन गर्दै अल्पकालीन चालू पूँजीका लागि ५ लाख रुपैयाँ र दीर्घकालीन चालू पूँजीका लागि १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन अनुमति दिएको हो। यस सुविधाअन्तर्गत व्यवसायीले मोबाइल बैंकिङमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन दिएपछि बैंकको स्वचालित प्रणालीले ग्राहकको विवरण मूल्यांकन गर्नेछ र योग्य ठहरिएमा केही मिनेटमै कर्जा रकम बैंक खातामा जम्मा हुनेछ। यस प्रक्रियामा धितो राख्न, बैंक शाखामा जान वा धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्ने छैन।
राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले डिजिटल कारोबार गर्ने लघु, साना तथा मझौला व्यवसायीलाई आवश्यक समयमा सहज रूपमा वित्तीय सहायता प्राप्त गर्न मद्दत गर्नेछ। ‘फोन लोन’ सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाबाट यो सुविधा लिन सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे