
काठमाडौँ । नबिल बैंक र धुलिखेल अस्पतालबीच स्वास्थ्य सेवा विस्तार र सुधारका लागि सहकार्य गर्ने सम्झौता भएको छ। यसअन्तर्गत नबिल बैंकले धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
यो सहयोग विशेषगरी जलनका बिरामीहरूको उपचार, कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा र डायलासिस सेवाको पहुँच बढाउन प्रयोग गरिनेछ। सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको आधुनिक सघन जलन उपचार कक्ष स्थापना गरिनेछ। साथै, भविष्यमा अन्य प्रदेशहरूमा पनि यस्ता सेवा विस्तार गर्ने योजना छ।
नबिल बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा केन्द्र स्थापना गर्न र डायलासिस सेवालाई थप प्रभावकारी बनाउन पनि सहयोग गर्नेछ। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले यस सहकार्यबाट धेरै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।
धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु श्रेष्ठले यो साझेदारीले विशेषगरी आर्थिक रूपमा कमजोर र स्वास्थ्य सेवामा पहुँच कम भएका बिरामीहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन ठूलो मद्दत पुग्ने बताए। यो सम्झौता तीन वर्षसम्म लागू रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे