
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वप्रसिद्ध विलासी होटल ब्रान्ड रिट्ज–कार्लटनको नेपाल प्रवेशले देशलाई उच्च आय भएका पर्यटक तथा विश्वका धनाढ्य वर्गको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय होटल समूहका अध्यक्ष डेभिस म्यारियट तथा चौधरी समूहको व्यवस्थापन टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले रिट्ज–कार्लटनको नेपाल आगमनलाई पर्यटन र विदेशी लगानीका दृष्टिले ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे।
काठमाडौंको ठमेल क्षेत्रमा चौधरी समूहको साझेदारीमा रिट्ज–कार्लटन होटल सञ्चालन गर्ने घोषणा भएपछि भएको भेटमा उनले नेपालप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास अझ सुदृढ भएको बताए। नयाँ परियोजनाले लगानीकर्तामा उत्साह थप्नुका साथै नेपाललाई उच्चस्तरीय पर्यटकको प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने उनको भनाइ थियो।
भेटका क्रममा डेभिस म्यारियटले नेपाललाई विश्वकै उत्कृष्ट हिमाली पर्यटन तथा पदयात्रा गन्तव्यमध्ये एक भएको उल्लेख गर्दै रिट्ज–कार्लटनको उपस्थितिले नेपालको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाउने विश्वास व्यक्त गरे। नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनको अद्वितीय संयोजन रहेको भन्दै उनले यसले विश्व पर्यटन बजारमा विशेष आकर्षण सिर्जना गर्ने बताए।
अर्थमन्त्री वाग्लेले सरकारले लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय होटल तथा पर्यटन क्षेत्रका लगानीकर्तालाई काठमाडौंबाहेक अन्य सम्भावनायुक्त गन्तव्यमा समेत विस्तार गर्न आग्रह गरे। लगानी सुरक्षा, कानुनी सहजीकरण तथा आवश्यक पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको उनले बताए।
त्यस अवसरमा चौधरी समूहका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानीका दृष्टिले अत्यन्त सम्भावनायुक्त मुलुक रहेको उल्लेख गर्दै नयाँ सरकार गठनपछि निजी क्षेत्र र विदेशी लगानीकर्तामा सकारात्मक उत्साह देखिएको बताए। उनले दीर्घकालीन लगानी आकर्षित गर्न सरकारको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।
भेटवार्तामा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट समूहका एशिया–प्रशान्त क्षेत्रीय अध्यक्ष राजीव मेनन तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे