
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजहरूलाई व्यवस्थित रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यी कलेजहरूबारे धेरै गुनासो आउन थालेपछि सरकारले कडा नियमन आवश्यक ठानेको बताए ।
मन्त्री पोखरेलका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकेको छ । ती मन्त्रालयको राय र स्वीकृति आएपछि नियमावली मन्त्रिपरिषद्मा पेश गरिनेछ । उनले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरू कुन आधारमा खोल्ने, कुनलाई अनुमति दिने वा नदिने भन्ने स्पष्ट नियम आवश्यक भएको बताए ।
हाल नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी सम्बन्धनका कलेजहरू राम्रोसँग नियन्त्रण हुन नसकेको उनको भनाइ छ । मन्त्रालयले एकैसाथ शिक्षा नियमावली, कन्सल्टेन्सी नियमन नियमावली र विदेशी विश्वविद्यालयसम्बन्धी नियमावली अघि बढाइरहेको छ ।
यसैगरी शिक्षक दरबन्दी मिलानको काम पनि स्थानीय तहसँग समन्वयमा अगाडि बढिरहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन विभिन्न सुधार कार्य अघि बढाइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे