
काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्बभन्दा बढी रकम खर्च गरी ३ लाख ३९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल खरिद गरेको छ । कम्पनीले नेपाल सरकारबाट प्राप्त मूल्य अनुदानसहित युरिया, डीएपी र पोटास खरिदमा ठूलो रकम खर्च गरेको विवरण सार्वजनिक भएको हो ।
प्रतिवेदनअनुसार कम्पनीले उक्त अवधिमा २ लाख ९ हजार ८४५ मेट्रिकटन युरिया, १ लाख १९ हजार २२४ मेट्रिकटन डीएपी तथा १० हजार १९३ मेट्रिकटन पोटास खरिद गरेको थियो । रासायनिक मल खरिदमा नेपाल सरकारबाट मूल्य अनुदानबापत प्राप्त १६ अर्ब १८ करोड ४६ लाख रुपैयाँसहित कुल २४ अर्ब ४१ करोड १८ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
यसैबीच, मल आपूर्ति सम्झौतासम्बन्धी विवाद कानुनी प्रक्रियासम्म पुगेको छ । विभिन्न आपूर्तिकर्ताले कम्पनीसँग भएको खरिद सम्झौताअनुसार निर्धारित समयमा मल आपूर्ति गर्न नसकेपछि कम्पनीले कार्यसम्पादन जमानत जफत गरेको थियो ।
कम्पनीको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आपूर्तिकर्ताहरूले कानुनी उपचारको बाटो रोजेका छन् । हाल यस विषयमा १७ वटा मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे