
काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्के खोलामाथि र सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका घर तथा संरचना आजदेखि हटाउन सुरु गरेको छ । महानगरले यसअघि त्यस्ता संरचना हटाउन ३५ दिनको समय दिएको थियो । तोकिएको समय सकिएपछि अब डोजर प्रयोग गरेर खोला किनारका घर खाली गराउन थालिएको हो । पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षका नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर लगाइने महानगरले जनाएको छ ।
महानगरका अनुसार अँधेरकुना, फिर्केपुल र जिरोकिलोमिटर क्षेत्रबाट एकैसाथ अभियान सुरु गरिनेछ । सम्बन्धित वडा अध्यक्ष र जनप्रतिनिधिको नेतृत्वमा अतिक्रमित संरचना हटाइने बताइएको छ । महानगरले सार्वजनिक जमिन र खोलाको क्षेत्र सुरक्षित बनाउन यस्तो कदम चालिएको जनाएको छ ।
यस्तै, लामो समयदेखि निर्माण हुन नसकेको पोखरा बसपार्क क्षेत्रमा बनेका अनधिकृत सटर र पसल पनि हटाइने भएका छन् । पोखरा उपत्यका नगर विकास समितिले त्यस्ता संरचना खाली गर्न १५ दिनको अन्तिम समय दिएको छ । समयभित्र खाली नगरे बल प्रयोग गरेर हटाइने चेतावनी दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे