
काठमाडौँ, २ जेठ । टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेसँगै चौधरीलाई जन्म कैद हुने भएको हो ।
जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो। अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन, आज मंगलबारको इजलासले भनेको छ।
इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ। उनीहरु दुबै जनालाई उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।
त्यस्ता, अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मण सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशको माग गर्ने दुई समूहबीच भएको झडप र आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो । उक्त नरसंहारमा रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतलाई दोषी मानिएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट दोषी ठहर भएका रेशमलाल चौधरी घटनामा आफ्नो संलग्नता नरहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।
उच्च अदालतले पनि कैलाली जिल्ला अदालतकै फैसला सदर गर्दै तत्कालीन सांसद समेत रहेका चौधरीलाई दोषी ठहर गरिएको थियो । त्यसपछि चौधरी २०७७ फागुन १२ गते उच्च अदालतको फैसलाविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
कैलालीबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचितसमेत भएका चौधरी निलम्बनकै अवस्थामा रहँदा उनको पदावधि सकिएको थियो । उच्च अदालतको फैसला अनुसार हाल कारागार कार्यालय डिल्लीबजारमा जेल सजाय भुक्तान गरिरहेका चौधरीकै पहलमा नागरिक उन्मुक्ति पार्टीसमेत गठन गरिएको छ । रेशम चौधरी पत्नी रञ्जित श्रेष्ठ चौधरी उक्त पार्टीको अध्यक्ष छिन् । श्रेष्ठ २०७९ मंसिरको चुनावमा निर्वाचित भई हाल महिला तथा बालबालिका मन्त्रि समेत बनेकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे