२०८० मंसिर १७, आईतबार
रुकुमपश्चिम, कात्तिक २२ । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना घर भूकम्पका कारण भत्किएका वा बस्नै नहुने गरी चर्किएकाले सरकारले घर बनाइदिए अरू व्यवस्था आफैँ गर्ने जनाएका छन् ।
भेरी नगरपालिका–१, रावतगाउँका तारा नेपालीले सरकारले घर बनाइदिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब घर बनाउन आफूहरूले नसक्ने भएकाले सरकारले घर बनाइदिएको खण्डमा अरू हामी आफैँ गर्न सक्छौँ ।” उहाँले घर बनाउने कि जीवनयापन गर्ने भन्ने समस्या बढेको भन्दै सरकारले घर बनाइदिए आफूहरूको पीडा केही कम हुने उल्लेख गर्नुभयो ।
यस्तै आठबिसकोट नगररपालिका–११, चौरका कोमल खत्रीले पनि घर बनाइदिने काम सरकारले गरिदिनुपर्ने माग गर्नुभयो । उहाँले ऋण काढेर बनाएको घर भूकम्पले भत्काइदिएपछि फेरि बनाउन नसक्ने हुँदा सरकारले नै बनाइदिनुपर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हाम्रो घर मात्र बनाइदिनु पर्छ, घर बनाएमा हाम्रो मुख्य समस्या टर्छ, अरू जोहो आफैँ गर्छौं ।” भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा पूर्ण, आंशिक र सामान्य गरी २० हजारभन्दा बढी घरमा क्षति पुगेको छ । जाजरकोटमा पूर्ण र आंशिक गरी आठ हजार ३३६ र रुकुमपश्चिममा पूर्ण, आंशिक र सामान्य गरी ११ हजार ७८८ वटा गरी २० हजार १२४ वटा घरमा क्षाति पुगेको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश विपत् व्यवस्थापन केन्द्रले सोमबारसम्मको तथ्याङ्कमा जनाएको छ । पूर्ण क्षति भएका घर जाजरकोटमा एक हजार १७० र रुकुमपश्चिममा पाँच हजार २३६ वटा छन् ।
यस्तै आंशिक क्षति भएका घर जाजरकोटमा सात हजार १६६ वटा र रुकुमपश्चिममा एक हजार ७९२ वटा रहेका छन् । सामान्य क्षतितर्फ रुकुमपश्चिममा चार हजार ७६० वटा छन् भने जाजरकोटमा तथ्याङ्क सङ्कलन भएको छैन । रुकुमपश्चिममा बढी घर क्षति हुनेमा सानीभेरी गाउँपालिकामा दुई हजार ९८० वटा घरमा पूर्ण क्षति, आंशिकमा ४९३ वटा र सामान्यमा ५० वटा भएका छन् भने त्यसपछि आठबिसकोट नगरपालिकाकै रहेको छ । जसमा पूर्ण क्षतिमा एक हजार ५० वटा, आंशिक क्षतिमा एक हजार ५१० र सामान्य क्षतिमा एक हजार १७६ वटा रहेका छन् ।
यसै गरी जाजरकोटमा सबैभन्दा बढी घर क्षति हुनेमा पूर्ण क्षतिमा भेरी नगरपालिकामा ३४४, आंशिकमा ७१२ वटा, त्यसपछि जुनीचाँदे गाउँपालिकामा पूर्ण क्षति भएका घर २७० र आंशिक क्षति भएका चार हजार ४५६ तथा नलगाड नगरपालिकामा पूर्ण क्षति भएका दुई सय र आंशिक क्षतिमा छ सय वटा रहेको प्रदेश विपत् व्यवस्थापन केन्द्रले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे