२०८० आश्विन १२, शुक्रबार
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने भएको छ ।
संस्थानको शनिबार सम्पन्न ३१औं साधारण सभामा सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले दुई अर्ब चुक्ता पुँजी पुर्याउने जानकारी दिएका हुन् । उनले बिमा समितिको निर्देशन अनुरुप दुई अर्ब चुक्ता पुँजी पुर्याउन पुँजी योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको जानकारी दिए ।
कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तार लगायत अन्य गतिविधिमा नराम्रो प्रभाव परेको उनले बताए ।
कोरोना प्रभावका बाबजुद संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको र तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गरेको जानकारी दिए । आर्थिक वर्षको अन्त्यमा जीवन बिमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको अध्यक्ष कँडेलले बताए ।
उनका अनुसार संस्थानले लामो समयदेखि बाँकी रहेको आव २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षण सम्पन्न गरेको छ । यसअनुसार संस्थानले २०६६/६७ मा तीन अर्ब चार करोड र २०६७/६८ मा तीन अर्ब ७८ करोड आम्दानी गरेको छ । यस्तै, २०६८/६९ मा तीन अर्ब ९० करोड आम्दानी भएको छ ।
संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको जानकारी दिए ।
संस्थानले तीन आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२ को पनि लेखापरीक्षकबाट प्रतिवेदन प्राप्त भएको र स्वीकृतिको लागि बिमा समितिमा पठाएको जनाएको छ ।
यस्तै, संस्थानले आव २०७२/७३, २०७३/७४ र २०७४/७५ को लेखापरीक्षण गर्न दुईजना लेखापरीक्षक नियुक्त गरेको छ ।
संस्थानले लामो समयदेखि लेखापरीक्षण गराउन सकेको थिएन । बिमा समिति, अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालयको बारम्बारको ताकेतापछि अहिले लेखापरीक्षणका काम भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे